जनकपुरमा विवाह पञ्चमी महोत्सवको तयारी सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

विराटनगर/ मिथिला क्षेत्रमा सांस्कृतिक महोत्सवको रूपमा मनाइने विवाह पञ्चमीको तयारी जनकपुरमा धमाधम भइरहेको छ। मधेस प्रदेश सरकारले सप्ताहव्यापी रामजानकी विवाह महोत्सवका लागि कार्यदल गठन गर्दै विशेष तयारी थालेको हो। प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको नेतृत्वमा गठित कार्यदलले महोत्सवको व्यवस्थापन र कार्यक्रमको योजना बनाइरहेको छ।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीका अनुसार कार्यदलले अयोध्याबाट आउने जन्तीको स्वागत, खानपान र बसोबास व्यवस्थापन तथा आम श्रद्धालुको लागि आवास सुविधा सुनिश्चित गर्न पूर्वयोजना तयार गरिरहेको छ।

मिथिलामा विवाह पञ्चमी पुरानो परम्पराका रूपमा मनाइन्छ। त्रेतायुगमा राजा दशरथका चार पुत्र र राजा जनकका छोरीहरू बीच भएको विवाहको सम्झनामा यो महोत्सव मनाइन्छ। यस वर्ष मङ्सिर २१ गते विवाह पञ्चमी परेको छ।

विवाह पञ्चमी महोत्सवमा मिथिलाका सांस्कृतिक विधि र परम्परागत अनुष्ठानअनुसार विभिन्न कार्यक्रम हुने गर्छन्। नगर दर्शन, फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, स्वयम्वर, विवाह, र रामकलेवा जस्ता कार्यक्रमहरू सप्ताहव्यापी रूपमा आयोजना गरिनेछन्।

मधेस प्रदेश सरकारले यो महोत्सवलाई भव्य र सुव्यवस्थित बनाउन विशेष तयारी गरिरहेको छ। यस अवसरमा लाखौं श्रद्धालुहरूको आगमन हुने अपेक्षा गरिएको छ, जसले जनकपुरको सांस्कृतिक र धार्मिक महत्वलाई थप उजागर गर्नेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]