

विराटनगर / तिहार नजिकिंदै गर्दा बजारमा सयपत्री फूलको माग बढेको छ। हरेक वर्ष भारतबाट नेपाल आयात हुँदै आएको फूलमा यस पटक सरकारले रोक लगाएपछि फूल व्यवसायीहरू र स्थानीय कृषकहरूले आ-आफ्ना नर्सरीमा फूल उत्पादनमा विशेष ध्यान दिन थालेका छन्।
तिहारमा सबैभन्दा बढी प्रयोग हुने फूल सयपत्री भएकाले गाई पूजा देखि भाइ पूजा सम्म यसको आवश्यकता पर्छ। विराटनगरको रानी स्थित डाइमन्ड नर्सरीका संचालक सर्फे आलमले दुई महिना अघि नै बीउ ल्याएर सयपत्री फूलको तयारी सुरु गरेको बताए। आलमले यस समय फूलको माग बढ्दै गएकाले दिनरात काम गर्दै फूललाई बजारसम्म पुर्याउन लागिपरेका छन्।
त्यसैगरी, हाईटेक नर्सरीका कर्मचारी दुखन महतले तिहारको समयमा अन्य बेला भन्दा राम्रो व्यापार हुने जानकारी दिए। तिहारको चाडमा सयपत्रीको बिरुवा धेरै मात्रामा बिक्री हुने र मानिसहरूले घरमा सजावट र पूजा प्रयोजनका लागि लैजाने गरेको बताए।
फूलको बिरुवा किन्न आएका टेकबहादुर भण्डारीले यस वर्ष तिहार कात्तिकको अन्तिममा परेकाले घरमा रोपिएका फूल ढकमक्क फूलेको तर तिहारसम्म त्यसका फूलहरू ओइलाउने सम्भावना भएको बताए। उनले समयमै फूलका बिरुवा किनेर तिहारमा सजावटमा प्रयोग गर्ने उद्देश्यले नर्सरीमा आएको बताए।
अन्य एक ग्राहक अनुषा शर्माले भारतबाट फूल आयातमा रोक लगाएपछि बजारमा फूलको अभाव हुने र त्यसले मूल्यमा वृद्धि हुने सम्भावना रहेको बताइन्। उनले घरमै फूल फुलाएर पूजा-पाठमा प्रयोग गर्न सकिने आशामा बिरुवा खरिद गरेकी बताइन्।
भारतबाट आयातमा प्रतिबन्ध लागेसँगै स्थानीय उत्पादनमा भएको बढावा र फूल व्यवसायीको सक्रियताले यस वर्ष तिहारमा स्थानीय फूलको उपयोग हुनेमा आशा गरिएको छ।