

विराटनगर/मोरङको रंगेली अस्पतालमा पछिल्लो केही महिनायता बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ। रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी नगरपालिका तथा भारतको सीमाक्षेत्रबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन्। पहिले दैनिक १०० देखि २०० बिरामी उपचारका लागि आउने अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध भएपछि दैनिक ५०० देखि ६०० बिरामीले सेवा लिन थालेका छन्।
विशेष गरी ज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको र रक्त परीक्षण गर्दा अधिकांस बिरामीहरूमा रक्तअल्पता (शरीरमा रगतको कमी) देखिन थालेको अस्पतालका चिकित्सकहरूले बताएका छन्। अचम्मको कुरा के छ भने, महिलाहरूमा प्राकृतिक कारणले रक्तअल्पता सामान्य मानिए तापनि, पुरुषहरूको रक्तअल्पता समस्या दिनदिनै बढ्दै गएको पाइएको छ। अस्पतालका चिकित्सकका अनुसार ३० देखि ७० वर्ष उमेर समूहका पुरुषहरूमा विशेष रूपमा रक्तअल्पता समस्या देखिएको छ।
रंगेली अस्पतालका मेडिकल अधिकृत डाक्टर सद्घाम हुसेनले यो तथ्यलाई औंल्याउँदै भने, “महिनावारीको कारणले महिलामा रक्तअल्पता हुने सामान्य हो, तर पुरुषमा यस्तो समस्या बढ्दै जानु आश्चर्यजनक छ।” रंगेली अस्पतालका ल्याब टेक्निसियन सञ्जय अधिकारीले रक्तअल्पता भएका बिरामीहरूलाई हरियो सागसब्जी, फलफूल, फर्सी, फर्सीको बीउ तथा फलामयुक्त पौष्टिक खानामा ध्यान दिन सल्लाह दिएका छन्।
रक्तअल्पता समस्याले गर्दा अस्पतालमा रगतको माग पनि बढ्दै गएको छ। रक्त सञ्चयमा कमी भइरहेकाले रक्त बैंकका इन्चार्ज सूर्यकुमार मण्डलले बिरामीका आफन्तहरूलाई रगत दिन आग्रह गर्दै आए पनि धेरैजसोले विभिन्न बहाना बनाएर रगत नदिने गरेको बताउँछन्।