

विराटनगर / नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले प्रदर्शनको १६औँ दिनसम्म आइपुग्दा ऐतिहासिक सफलता हासिल गरेको छ। लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले नेपालमा मात्रै होइन, ओभरसिज मार्केटमा समेत नयाँ रेकर्ड बनाउँदै ३० करोड ग्रस कमाइ गरेको छ।
निर्माता विनोद पौडेलका अनुसार, चलचित्रले एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली सिनेमाको रेकर्ड पनि राखेको छ। मुलुकभरका करिब ३५० हलमा प्रदर्शन भइरहेको यो चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ उचाइ कायम गरेको छ।
ओभरसिज मार्केटमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ ले एक हप्तामा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको उपाधि प्राप्त गरेको छ। विदेशी दर्शकको मायाले नेपाली मौलिक कथामा आधारित यस चलचित्रले विश्वभर आफ्नो पहिचान बनाएको निर्माता पौडेलले बताए।
यसैबीच, केही हलहरूले चलचित्रको वास्तविक कमाइभन्दा निकै कम ग्रसकलेक्सन रिपोर्ट दिएको भन्दै निर्माणपक्षले केही हलहरूमा चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको छ। मोफसल भ्रमणका क्रममा निर्माण टोलीले यस्तो समस्या पत्ता लगाएपछि बिराटनगर, जनकपुर, बर्दिवास, इलामलगायत १९ हलहरूमा शनिबारदेखि चलचित्र प्रदर्शन रोकिएको छ।
निर्माण टिमले चलचित्रको प्रचारका लागि होइन, दर्शकले दिएको मायाप्रति धन्यवाद दिन विभिन्न हलहरूमा भ्रमण गरिरहेको छ। अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत टिमका सदस्यहरूले दर्शकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा विजय बराल, प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।
‘पूर्णबहादुरको सारङ्गी’ ले नेपाली चलचित्रले विश्वभर आफ्नो पहिचान बनाउन सक्ने सन्देश दिएको छ। दर्शकहरूको निरन्तर समर्थनले यस चलचित्रलाई नेपाली सिनेमा इतिहासको उत्कृष्ट उपलब्धि बनाएको छ।