

विराटनगर। झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ। शुक्रबार राति पौने ११ बजे विद्युतीय सर्किटमा भएको गडबडीका कारण आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एनआईसीयूमा आगलागी हुँदा ५५ नवजात शिशु उपचाररत थिए। आगलागीबाट १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४५ जनालाई उद्धार गरी बाहिर निकालिएको भारतीय प्रहरीले जानकारी दिएको छ। तीमध्ये १६ नवजात शिशु घाइते भएका छन्। घाइते शिशुहरूको उपचार भइरहेको छ।
विद्युतीय सर्किटको समस्या आगलागीको मुख्य कारण भएको बताइएको छ। उद्धारकार्यका लागि दमकल र आपतकालीन टोली तुरुन्त खटिएको थियो। स्थानीय प्रशासनले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।
भारतमा यस प्रकारको अस्पताल दुर्घटना पटक–पटक हुँदै आएकाले यसले स्वास्थ्य संस्थाहरूमा सुरक्षा व्यवस्थाको सवाललाई थप गम्भीर बनाएको छ।