

विराटनगर /भारतबाट आयात गरिएका सस्ता तरकारीले देवानगञ्जका किसानहरूको जीविकोपार्जनमा गम्भीर असर पुर्याएको छ। भारतीय तरकारीको आयातले स्थानीय उत्पादनको मूल्यमा गिरावट ल्याएपछि किसानहरू आर्थिक संकटमा परेका छन्।
देवानगञ्ज बजारमा आलु, प्याज, टमाटर, काउली, भण्टा र सागपातजस्ता तरकारी भारतबाट ठूलो मात्रामा भित्रिरहेका छन्। यी तरकारीको मूल्य सस्तो भएकाले उपभोक्ता र व्यापारीहरू भारतबाट ल्याइएका तरकारीतर्फ आकर्षित भएका छन्। स्थानीय किसानहरूले भने लगानीअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन्।
स्थानीय किसान रामलुटन मेहताले भने, “हामीले महिनौं लगाएर उत्पादन गरेका तरकारी बिक्री गर्नै गाह्रो भइरहेको छ। भारतबाट आउने सस्ता तरकारीले हाम्रो मेहनतको मोल नै हराएको छ।”
किसान सुवोध मेहताले पनि यो समस्या गम्भीर भएको बताउँदै भनिन्, “बजारमा मागभन्दा आपूर्ति धेरै भएकाले हाम्रो उत्पादन थन्किएको छ। सरकारले तुरुन्तै समाधान खोज्नुपर्छ।”
तर, व्यापारी र उपभोक्ताहरू भने सस्ता आयातित तरकारीले आफ्नो खर्चमा राहत दिएको बताउँछन्। एक व्यापारीका अनुसार, “भारतबाट आउने तरकारी सस्तो र सजिलै उपलब्ध भएकाले ग्राहकहरू यसैलाई रोज्छन्। तर, यसले स्थानीय किसानलाई गम्भीर असर गरेको बुझ्न सक्छौं।”
किसानहरूले भारतबाट आयात हुने तरकारीमा कडाइका साथ नियमन गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्। साथै, उनीहरूले कृषि क्षेत्रलाई बचाउन अनुदान, सहुलियतपूर्ण ऋण र बजार व्यवस्थापन सुधार गर्नुपर्ने माग राखेका छन्।
यदि समयमा नै यो समस्याको समाधान गरिएन भने, देवानगञ्जका किसानहरूले कृषि पेशा नै छोड्नुपर्ने अवस्था आउन सक्ने खतरा बढेको छ। यो समस्याले स्थानीय अर्थतन्त्रमा पनि दीर्घकालीन असर पार्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।