इटहरीको गजुरमुखी होटलबाट ६ जना जुवाडे पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर ०७, २०८१

विराटनगर / सुनसरीको इटहरी उपमहानगरपालिका-६ मा सञ्चालनमा रहेको गजुरमुखी होटलबाट गएराति तास खेलिरहेका ६ जना जुवाडे पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, इटहरीले कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा खटिएको टोलीले होटलको तेस्रो तलामा छापा मारेर पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरूमा होटल सञ्चालक नविन पुरी, इटहरीका ४५ वर्षीय जीवन कार्की, इटहरी-१७ का ५२ वर्षीय दुर्गा कार्की, बराहक्षेत्र-१ का ३० वर्षीय सुबास राई, बराहक्षेत्र-८ का खडगबहादुर बिष्ट, र रामधुनी-५ का ४६ वर्षीय गौरीशंकर रहेका छन्।

पक्राउ परेका जीवन कार्की र खडगबहादुर बिष्ट पेशेवर जुवाडे रहेको प्रहरीले जनाएको छ। दुवैजना यसअघि भाइटिकाको दिन सुनसरीको नडाहाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए।

छापामार कार्यवाहीको क्रममा जुवाडेको साथबाट २ लाख २८ हजार ५ सय रुपैयाँ नगद र ८ बुङ तास बरामद गरिएको छ। पक्राउ परेकाविरुद्ध आजै म्याद थप गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइने डीएसपी भण्डारीले बताए।

यस प्रकारको अवैध गतिविधि रोक्न प्रहरीले निगरानी अझ कडा बनाउने प्रतिबद्धता जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]