

झापा /सशस्त्र प्रहरी बल नेपालले भारतबाट भन्सार छलेर अबैध रूपमा ल्याइएका १२ लाखभन्दा बढी मूल्य बराबरका सामान बरामद गरेको छ।
आज बिहान ८ः३० बजे, कचनकवल-६ निवासी ४० वर्षीय नजाम खातुनको घरमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले छापा मारी अन्दाजी १२ लाख २० हजार ६०० रुपैयाँ मूल्य बराबरका ६ पोका लत्ताकपडा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले उक्त कारबाही गरेको थियो। बरामद सामान कानूनी प्रक्रिया पूरा गरी भन्सार दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए।
त्यस्तै, आज बिहान ११:४५ बजे मेचीनगर-६, सुँगुरठ्याक बस्तीमा सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको मोबाइल गस्ती टोलीले बेवारिसे अवस्थामा १ लाख ८० हजार रुपैयाँ बराबरका १५ बोरा सुपारी र ५७ हजार रुपैयाँ बराबरका ५ हजार २८६ थान विभिन्न जातका फूलका बिरुवा बरामद गरेको छ।
बरामद फूलका बिरुवा नेपाल प्रहरी, पत्रकार र स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ भने सुपारी मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको रसाइलीले बताए।
अवैध चोरी र निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय रहेको र थप निगरानी बढाइएको उनले बताए।