कोशी प्रदेशमा गाँजा फडानी अभियान: ६३ हजारभन्दा बढी गाँजाका बोट नष्ट

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०८, २०८१

विराटनगर /  कोशी प्रदेश प्रहरी कार्यालयले धनकुटा र उदयपुर जिल्लामा अवैध रूपमा लगाइएका र प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट नष्ट गर्न व्यापक अभियान सञ्चालन गरेको छ। सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत गाँजा फडानी कार्यले लागूऔषध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास प्रहरीको छ।

धनकुटामा इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, पाख्रीवास, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट खटिएको टोलीले शहिदभूमि र साँगुरीगढी गाउँपालिका तथा पाख्रीवास नगरपालिकाका विभिन्न स्थानमा ६६ रोपनी क्षेत्रफलमा फैलिएका ५६ हजार ५० गाँजाका बोट नष्ट गरेको जनाएको छ।

त्यस्तै, उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-१ मा खटिएको प्रहरी टोलीले विभिन्न पाखा र बारीमा रहेका ७ हजार ८९५ गाँजाका बोट फडानी गरी जलाएर नष्ट गरेको छ।

प्रहरीका अनुसार, यस अभियानले अवैध गाँजा खेतीलाई निरुत्साहित गर्न मद्दत पुर्‍याउनेछ। साथै, लागूऔषध नियन्त्रण र सामाजिक सुरक्षाका लागि यस प्रकारका कदमले दीर्घकालीन प्रभाव पर्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]