

झापा/ अर्जुनधारा जलेश्वरधामले ४२औं वार्षिक अनुष्ठानअन्तर्गत अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञ सुरु गरेको छ। धामले पौराणिक धर्मगुरुहरूको उपस्थितिमा विशेष धार्मिक कार्यक्रम आयोजना गरेको हो।
महायज्ञको उद्घाटन श्री १००८ स्वामी कालीबाबा र श्री १०८ मोहनप्रियाचार्यले संयुक्तरूपमा गरेका थिए। प्रमुख अतिथि कालीबाबाले अर्जुनधारा जलेश्वरधामलाई दिव्यस्थल र सिद्धक्षेत्रको रूपमा चिनाउँदै यहाँ आउन पाउँदा गौरवान्वित भएको बताए। उनले अर्जुनधारा जलेश्वरधामलाई महाभारतकालीन ऐतिहासिक स्थलका रूपमा व्याख्या गर्दै महायज्ञमा सहभागी भई पुण्य कमाउन सबैलाई आग्रह गरे।
कालीबाबाले नेपाललाई सनातन हिन्दू राष्ट्र पुनःस्थापित गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरे। यस्तै, श्री १०८ मोहनप्रियाचार्यले अर्जुनधाराको धार्मिक महत्व पौराणिक कालदेखि रहेको चर्चा गर्दै सनातन धर्मको संरक्षण र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि सबैले योगदान दिनुपर्ने बताए। श्यामानन्दजी महाराजले पनि नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउनुको आवश्यकता औंल्याए।
कार्यक्रमको प्रारम्भमा धाम परिसरबाट शोभायात्रा निकालेर अर्जुनधारा नगर परिक्रमा गरिएको थियो। अर्जुनधारा संस्कृत गुरुकुलका वटुक छत्रपति गुरागाईंले संस्कृत भाषामा स्वागत मन्तव्य राखेका थिए। मूल अर्चक अग्नीप्रसाद सिग्देलले धामको ऐतिहासिक पृष्ठभूमि र बालाचतुर्दशी पर्वको महत्त्वमाथि चर्चा गरे।
महायज्ञसँगै अर्जुनधारा अतिथि सदनको शिलान्यास गरिएको छ। शिलान्यास स्वामी कालीबाबा र मोहनप्रियाचार्यले संयुक्त रूपमा गरेका हुन्। अतिथि सदन निर्माणका लागि अर्जुनधारा नगरपालिकाले २० लाख रुपैयाँ र नगरपालिकाका वडाहरूले जनही ५ लाखका दरले ७५ लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्। यसका साथै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले ५० लाख रुपैयाँ प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने घोषणा गरेका छन्।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, पूर्वअर्थमन्त्री महेश आचार्य, अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
धामका अध्यक्ष नवीन गट्टानीले धार्मिक, सामाजिक, र सांस्कृतिक गतिविधिहरूले अर्जुनधारा क्षेत्रको गरिमा बढाउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।