

विराटनगर/ सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक दम्पतीको ज्यान गएको छ।
प्रहरीका अनुसार संखुवासभाको धर्मदेवी नगरपालिका–३ निवासी ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती टीका गुरुङको मृत्यु भएको हो। उनीहरु चढेको को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको सवारी साधनले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरे।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्ने क्रममा मोटरसाइकल ती दुई सवारी साधनको बीचमा चेप्टिएर दुर्घटनामा परेको हो।
हालसम्म ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको र ठक्कर दिने सवारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।