

विराटनगर/ मोरङको पथरीशनिश्चरे–१, पश्चिम बस स्ट्यान्डस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। आज साँझ ७ बजे बेलबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र १-०२-०४० प ६०२५ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको NL-01 AD 5511 नम्बरको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि मंगलबारेस्थित ट्रमा सेन्टरमा पुर्याइएको थियो। तर, चिकित्सकले उनलाई साँझ ७:१५ बजे मृत घोषणा गरेका छन्। घाइते चालकको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक ४२ वर्षीय दिनेश कुमार दासलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ। दिनेश कुमार दास भारत, उत्तर प्रदेश, मिर्जापुरका बासिन्दा हुन्।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।