ग्रामथान गाउँपालिकामा स्थानीय चुनावी चहलपहल: पार्टीको झण्डा हावी, नेपालको झण्डा बेवास्ता

Logo
सरिता कर्मकार प्रकाशित बुधबार, मंसिर १२, २०८१

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिकामा हाल स्थानीय उपनिर्वाचनको माहोल तातेको छ। गाउँका हरेक चोक, बाटो र स्थानमा विभिन्न राजनीतिक दलका झण्डाले वातावरणलाई चुनावी रंगमा रंग्याएको छ। पार्टीका झण्डाहरू हावामा फरफराइरहेका छन्, र पार्टीका नेता तथा कार्यकर्ता आ-आफ्नो दललाई जिताउन दिनरात खटिएका छन्।

तर यो माहोलमा एउटा अत्यन्तै गम्भीर र लाजमर्दो दृश्य पनि देखिएको छ। ग्रामथानको तेतरिया चोकमा राखिएको नेपालको राष्ट्रिय झण्डा च्यातिएको र पुरानो अवस्थामा रहेको छ। यस चोकको बीचमा रहेको झण्डाले देशको पहिचान र गौरव झल्काउनु पर्ने हो, तर त्यहाँ राष्ट्रिय झण्डाको हालतले सबैको ध्यानाकर्षण गरेको छ।

पार्टीका झण्डा झुन्ड्याउन कुनै कसर बाँकी नराख्ने राजनीतिक कार्यकर्ताहरूले राष्ट्रिय झण्डाको अवस्था सुधार्नेतर्फ भने सोच्ने फुर्सद पाएका छैनन्। चोकमा नेपालको झण्डा पुरानो र जीर्ण अवस्थामा रहेको अवस्थामा पनि कसैले नयाँ झण्डा राख्ने चेष्टा नगर्नु दुखद् दृश्य बनेको छ।

यो स्थिति केवल चोकमै सीमित छैन। सवारी साधनहरूमा पनि राजनीतिक पार्टीका झण्डाहरू टाँसिएका छन्, तर राष्ट्रिय झण्डालाई प्राथमिकता दिने कुनै चेष्टा देखिदैन। यसले स्थानीय तहमा पार्टीगत राजनीति हावी भएको र देशको पहिचानप्रतिको जिम्मेवारीलाई उपेक्षा गरिएको प्रष्ट पारेको छ।

जनताको प्रतिनिधित्व गर्न र देशको सेवा गर्न खटिने नेताहरूले राष्ट्रिय झण्डाको सम्मानलाई पहिलो प्राथमिकता दिनुपर्ने हो। तर, यहाँको वास्तविकता भने उल्टो देखिएको छ। देशका लागि सानो देखिने यो विषयले गहिरो प्रश्न उठाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]