

विराटनगर / विद्युतीय कसूरको आरोपमा पक्राउ परेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ। प्रसाईंलाई गैरकानूनी रूपमा हिरासतमा राखेको दाबी गर्दै उनका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट बुधबार खारेज भएको हो।
न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ। गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाउँदै दायर उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले हिरासतमा राख्नुलाई कानूनी आधारमा उचित ठहर गरेको हो।
दुर्गा प्रसाईंलाई गत मङ्सिर ४ गते प्रहरीले साइबर अपराध र सरकारी कागजात कीर्तेसहितका आरोपमा पक्राउ गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले विवादास्पद अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि उनीमाथि कानूनी कारबाही सुरु भएको थियो।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर प्रसाईंमाथि अनुसन्धान जारी राखेको जनाएको छ। यसअघि, मङ्सिर ९ गते दायर रिटमा गृह मन्त्रालय, सिआइबी, र लाजिम्पाटस्थित प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको थियो।
सर्वोच्च अदालतको निर्णयसँगै प्रसाईंलाई थप समय हिरासतमा राखेर अनुसन्धान अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।