शताक्षीधाममा ८७ धाराको उद्घाटन, धार्मिक पर्यटकको आकर्षणको केन्द्रबिन्दु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर / धार्मिक, ऐतिहासिक, र पर्यटकीय महत्वको शताक्षीधाममा ८७ धारा निर्माण गरी तीर्थालु भक्तजनका लागि स्नान गर्न मिल्ने व्यवस्था गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीवार ८७ धाराको औपचारिक उद्घाटन गरे। धाराबाट बग्ने जल अभिषेक गर्दै उनले धार्मिक र सांस्कृतिक महत्व झल्किने यो परियोजनाले शताक्षीधामको गरिमा थप बढाएको बताए।

शताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास संस्थाका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार तीर्थालुहरूले ८७ धारामा स्नान गरेपछि दिगम्बेश्वर महादेव र शाकम्बरी शताक्षी देवीको पूजा अर्चना गर्न सक्नेछन्। शताक्षी गंगाको पवित्र जल ८७ धारामा जडान गरिएको छ।

धार्मिक र पौराणिक महत्व बोकेको शताक्षीधामको नामको अर्थ “सय आँखावाली देवी” हो। हिन्दू धर्मशास्त्रअनुसार शताक्षी देवीले संसारभरका घटनाहरूमा दृष्टि राख्न सक्ने प्रतीकात्मकता व्यक्त गर्छिन्।

धाराको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले शताक्षीधामलाई दोस्रो मुक्तिनाथका रूपमा प्रचारप्रसार गर्न सकिने बताए। यो ८७ धारा मुक्तिनाथका १०८ धारापछि दोस्रो स्थानमा पर्ने उल्लेख गर्दै गौसंरक्षक घनश्याम शास्त्रीले शताक्षीधामको धार्मिक महत्वलाई बलियो बनाउन यो आयोजना प्रमुख उपलब्धि भएको बताए।

शताक्षीधाममा स्थायी पूर्वाधार विकासको क्रमसँगै मुख्यमन्त्री कार्कीले तीन तला अतिथि गृहको शिलान्यास गरे। स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहकार्यमा निर्माण हुने भनिएको भवनको लागि गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले १० लाख रुपैयाँ सहयोगको घोषणा गरे।

८७ धाराको निर्माणका लागि दाताबाट संकलित रकमको विवरण यकिन नभए पनि समितिका सचिव कालीप्रसाद रिजालले दाताले कबुल गरेको केही रकम आउन बाँकी रहेको जानकारी दिए। उद्घाटन समारोहमा धारा निर्माणका दाताहरूलाई सम्मान गरियो।

कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा, प्रदेश सरकारका उच्च अधिकारी र अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

शताक्षीधाम चुरे पहाडले घेरिएको रमणीय क्षेत्रमा अवस्थित छ। ८७ धाराको निर्माणपछि यो स्थान धार्मिक र पर्यटकीय केन्द्रको रूपमा थप स्थापित भएको छ। धार्मिक पर्यटकहरू यो धाममा आउने क्रम बढ्दै गइरहेको छ, जसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]