

विराटनगर / शिवसताक्षी नगरपालिकाले सताक्षीधाममा आयोजना हुने गोरक्षा महोत्सवका लागि भोलि सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको मंसिर १४ गते बसेको बैठकले महोत्सवलाई सफल बनाउन नगरपालिकाका मातहतका कार्यालय र सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
शिवसताक्षी नगरपालिकाका प्रवक्ता बहादुर आङ्बोका अनुसार महोत्सवका लागि विश्वका २५ भन्दा बढी मुलुकका धार्मिक सन्त महात्माहरू सताक्षीधाममा आइपुगेका छन्। ती पाहुनाहरूको स्वागत सत्कारलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको हो। अमेरिका, अस्ट्रेलिया, क्यानडा, स्विजरल्याण्ड, भारत, भुटान, बर्मालगायतका देशका धार्मिक व्यक्तित्वहरू महोत्सवमा सहभागी हुने गोवर्धन गौशालाले जानकारी दिएको छ।
गोलोक गोवर्धन गौशालाको स्थापना भएपछि हरेक वर्ष गोरक्षा महोत्सव आयोजना हुँदै आएको छ। यसअघि १०८ कुण्डीय कोटीहोमका लागि पनि शिवसताक्षी नगरपालिकाले बिदा दिएको थियो।
गोरक्षा महोत्सव मंसिर १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन अनन्त श्री विभूषित बालसन्त मोहनशरण देव आचार्यजी महाराजले गर्ने कार्यक्रम रहेको छ। धार्मिक महत्त्व बोकेको यो महोत्सवले क्षेत्रीय विकास र सांस्कृतिक एकतालाई थप सशक्त बनाउन योगदान पुर्याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।