

विराटनगर/ मोरङको सुन्दर हरैचा नगरपालिका–९ सलकपुरमा टिप्परको ठक्करबाट स्कुटी चालकको ज्यान गएको छ। हिजो साँझ विराटचोकदेखि गछियातर्फ जाँदै गरेको प्र १-०२-०५४ प ३५५८ नम्बरको स्कुटीलाई सोही दिशातर्फ गइरहेको ना ७ ख ३२२३ नम्बरको टिप्परले ठक्कर दिएको थियो।
दुर्घटनामा पथरी शनिश्चरे नगरपालिका–३ हसन्दहका ४४ वर्षीय एम. बहादुर रायमाझी गम्भीर घाइते भए। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरे।
प्रहरीका अनुसार टिप्परको तीव्र गति दुर्घटनाको मुख्य कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। टिप्पर चालक सुन्दर हरैचा–४ का ४४ वर्षीय देवकुमार खुलाललाई नियन्त्रणमा लिइसकिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।