

विराटनगर/ प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसैनको ७३ वर्षको उमेरमा निधन भएको छ। उनी मुटुसम्बन्धी समस्याबाट ग्रस्त थिए र दुई सातादेखि अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा उपचाररत थिए।
संगीतको क्षेत्रमा एक अद्वितीय योगदान दिएका उस्ताद जाकिर हुसैनले भारतीय शास्त्रीय संगीतलाई विश्वभर पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। तबलामा उनको कौशल र कला विश्वभर सराहनीय थियो।
उनको योगदानको कदर गर्दै उनलाई भारत सरकारले सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण, र २०२३ मा पद्मविभूषणजस्ता प्रतिष्ठित पुरस्कार प्रदान गरेको थियो।
उनको निधनले भारतीय संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। विश्वभरका संगीतप्रेमीहरूले उनको सम्झनामा शोक व्यक्त गरिरहेका छन्।