अग्रवाल समुदायद्वारा आयोजित अग्रभागवत कथाको अाज दोस्रो दिन

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, पुष १२, २०८१

विराटनगर / नेपाल अग्रवाल महिला मञ्च विराटनगरले अग्रवाल समाजको उत्पत्तिबारे जानकारी प्रदान गर्न तीन दिने अग्रभागवत कथाको आयोजना गरेको छ। पुस ११ देखि १३ गतेसम्म विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा भएको यस कार्यक्रममा भारतको महाराष्ट्र राज्यस्थित मुम्बईबाट आएका प्रख्यात वक्ता उज्जवल जी गर्गले कथा वाचन गरेका थिए।

अग्रवाल समाजको पाँच हजार वर्ष पुरानो इतिहासलाई उजागर गर्न आयोजित यस कथामा महाराज अग्रसेनका सन्तानको उत्पत्ति, समाजको भाषा, संस्कृति, र परम्पराको गहिरो जानकारी प्रदान गरियो।

वि.सं. २०४८ मा उत्तराञ्चल राज्यमा फेला परेको गाछीको छालामा लेखिएको भोजपत्र पुस्तकमा आधारित यो कथा विशेष थियो। श्रीराम गोपाल वेदिले संस्कृत भाषाको यो पुस्तकलाई हिन्दीमा अनुवाद गरेपछि विराटनगरका वरिष्ठ साहित्यकार लक्ष्मण नेवटियाले २०७५ सालमा नेपाली भाषामा अनुवाद गरेका थिए।

नेपाल र भारतका विभिन्न क्षेत्रबाट अग्रवाल समुदायका व्यक्तिहरू कथा सुन्नका लागि विराटनगर पुगेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले युवा पुस्ताले समाजको उत्पत्ति, इतिहास, र संस्कृतिलाई बुझ्न यस प्रकारका कार्यक्रम आवश्यक रहेको बताए।

नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवालले पनि युवाहरूमा समाजको इतिहासप्रतिको चासो बढेको र यसप्रकारका कथाले उनीहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे। महिला मञ्चकी अध्यक्ष उमा चौधरीले समाजका सबै उमेर समूहका व्यक्तिहरूको बाक्लो सहभागिताले आफू उत्साहित भएको बताइन्।

यस कार्यक्रमलाई सफल बनाउन नेपाल अग्रवाल सभा विराटनगर, नेपाल अग्रवाल युवा मञ्च विराटनगर, र नेपाल अग्रवाल कन्या मञ्च विराटनगरले सल्लाहकार संस्थाको रूपमा योगदान पुर्याएका थिए।

यस कथाले अग्रवाल समाजको सांस्कृतिक सम्पदा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान दिएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]