प्रचण्डले खाए राजवंशी समुदायको घरमा केराको पातमा पेल्का र माछा भात 

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष १५, २०८१

विराटनगर /पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको गौरीगञ्जस्थित राजवंशी समुदायको घरमा कोच संस्कृतिअनुसार केराको पातमा पेल्का र माछा भात खाएका छन्।

आज बिहान गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न आएका प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज–१ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच संस्कृति झल्कने पारम्परिक खाना खाएका हुन्।

खानामा उसिनेको चामलको भात, लाफाको पेल्का (लाफा सागको चिप्लो दाल), आलु र फूलकोभीको तरकारी तथा रहुँ माछा परोसेका थिए। परम्परागत शैलीमा पलेटी कसेर बसेर खाना खाएका प्रचण्डसँगै हरिबोल गजुरेल, इन्द्र आङबो, सावित्रीकुमार काफ्ले, जीवन आचार्य र धर्मशीला चापागाईंलगायतका नेताहरू पनि उपस्थित थिए।

राजवंशीको घरमा आयोजित यो भोजमा करिब ७५ जना सहभागी भएको स्थानीय कार्यकर्ताहरूले जानकारी दिएका छन्। उक्त व्यवस्थापन माओवादी केन्द्रको जिल्ला कमिटीले गरेको थियो।

खाना पकाउन र अतिथिहरूलाई खुवाउन १० भन्दा बढी टहलुवा र कामकरी (राजवंशी भाषामा भोजभतेरमा खटिने महिला र पुरुष स्वयंसेवक) खटिएका थिए। भोजमा सहभागीहरू स्थानीय परम्परागत स्वादले मन्त्रमुग्ध भएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]