उर्लाबारीमा ४५ दिने ढाका बुनाइ तालिम सुरु, महिला उद्यमशीलता विकासमा जोड –

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, चैत्र २३, २०८१

चैत्र २३..मोरङको उर्लाबारीमा महिलाहरूलाई सीपमूलक बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने ढाका बुनाइ तालिम सुरु गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय, मोरङको आयोजना र ई.टी.सी. ट्रीटमेन्ट, इटहरीको प्राविधिक सहयोगमा सुरु गरिएको तालिम उर्लाबारी नगरपालिका–७ स्थित उर्लाबारी चोकमा सञ्चालन भैराछ । तालिमको उद्घाटन घरेलु तथा साना उद्योग कार्यालय मोरङका अधिकृत भवानी घिमिरेले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले सीप आधारित तालिमहरूले स्थानीय स्तरमै स्वरोजगारको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। “महिलाहरू आर्थिक रूपमा सक्षम बन्न सक्ने वातावरण बनाउने यस्तो तालिम आजको आवश्यकता हो,” उनले भने।
तालिममा उर्लाबारी निरु ढाका कपडा उद्योगकी सञ्चालिका निर्मला चौहान प्रमुख प्रशिक्षकको रूपमा सहभागी भएकी छन् भने विन्दु विक सह–प्रशिक्षकको रूपमा संलग्न छिन्। प्रशिक्षक चौहानका अनुसार कुल २२ जना महिलाहरूले तालिममा सहभागीता जनाएका छन्।
“यो तालिमबाट ढाका कपडाको डिजाइन, रङ संयोजन, बुनेर उत्पादन गर्ने सीप तथा व्यावसायिक रूपमा प्रयोग गर्ने तरिका सिकाइनेछ,” प्रशिक्षक चौहानले भनिन्। उनका अनुसार तालिममा तयार गरिएका कपडाका सामग्रीहरू बजारमा लैजाने जिम्मेवारी पनि उर्लाबारी निरु ढाका कपडा उद्योगले लिनेछ।
उद्देश्य र भविष्य योजना
यस तालिमको मुख्य उद्देश्य स्थानीय महिलालाई आर्थिक रूपमा सबल बनाउँदै उद्यमशीलता विकास गर्नु रहेको छ। आयोजक संस्थाहरूका अनुसार, आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने र इच्छुक सहभागीहरूलाई उत्पादनको लागि आवश्यक परामर्श, उपकरण तथा बजार जडानमा सहयोग गरिनेछ साथै तयार गरिएका कपडाका सामग्रीहरू बजारमा लैजाने जिम्मेवारी पनि उर्लाबारी निरु ढाका कपडा उद्योगले लिनेछ।
सहभागी महिलाहरूले यस तालिमलाई आफ्नो भविष्य निर्माणको अवसरको रूपमा लिएको बताएका छन्। उनीहरू तालिम पश्चात आफूले सिकेको सीपमार्फत स्वरोजगारमा लाग्ने उत्साहका साथ अगाडि बढिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]