

प्रविधिसंग सम्बन्धित भई शिक्षा हासिल गर्ने कार्यलाई प्राविधिक शिक्षा भनिन्छ । प्राविधिक शिक्षाभित्र औपचारिक र अनौपचारिक दुवै शिक्षा समावेश छन् । यसले आवश्यक ज्ञान र सीप सहित जनशक्ति उत्पादन गर्छ । उन्नत जनशक्तिको विकासलाई बढवा दिन्छ । व्यक्तिलाई सीपयुक्त बनाई विभिन्न क्षेत्रमा उद्यम तथा व्यवसायको स्थापना, सञ्चालन र प्रवद्र्धन गर्न सक्षम बनाउँछ । सेवा तथा सामान उत्पादकबीच प्रतिस्पर्धा बढाई नयाँ प्रविधि विकासमा सघाउ पु¥याउँछ ।
सामाजिक समानता, समावेशीकरण र दिगो विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले देशको उत्पादकत्व बढाउँछ । व्यक्तिलाई आत्मनिर्भर बन्न र उद्यमशीलतालाई उत्प्रेरित गर्छ । समग्रमा देश विकासमा भूमिका खेल्छ । यही तथ्यलाई मध्यनजर गरी नेपालमा ९५ वर्षअघिदेखि प्राविधिक शिक्षा सञ्चालन हुदै आएको छ ।
नेपालमा सन् १९३० मा पहिलोपल्ट कुमारीचोकमा प्राविधिक विद्यालयको स्थापना गरी यसको विधिवत् सुरुवात भएको थियो भनिन्छ । मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्न सन् १९८९ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएको मानिन्छ । यसपछि प्राविधिक शिक्षाको व्यवस्थापन यसै संस्थामार्फत हुँदै आएको छ । हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम दिने संस्था १,५९१ छन् । देशमा प्राविधिक शिक्षा दिने संस्थाको वितरण समान छैन ।
७५३ स्थानीय तहमध्ये ६३३ मा एक प्राविधिक धारको विद्यालय अथवा सीटीईभीटीको कार्यक्रम सञ्चालन गरिएको छ । अन्य १२० स्थानीय तहमा प्राविधिक शिक्षा पुग्न सकेको छैन । प्राविधिक शिक्षाअन्तरगत पढाइ हुने ६४ कार्यक्रममध्ये ३२ कार्यक्रम तीनवर्षे डिप्लोमाका छन् । २६ कार्यक्रम प्रि–डिप्लोमा तहका र ६ कार्यक्रम विद्यालय तहका प्राविधिक धारका छन् । व्यावसायिक तालिमतर्फ ३११ विषयमा छोटो अवधिको तालिम दिइने गरेको छ ।
प्राविधिक शिक्षाले मानिसलाई आत्मनिर्भर, सक्षम र अनुभवी बनाउँदछ । यसको माध्यमबाट व्यक्तिको आर्थिक स्थिति सुदृढ हुनका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्न सक्दछ । छिटो, सरल र धेरै काम गर्न प्रविधि उपयोगी मानिन्छ । यसका लागि प्राविधिक ज्ञान हासिल गर्न आवश्यक छ । दक्ष जनशक्तिले मात्र देश विकास गर्न सम्भव छ । जसलाई मानवीय पूँजी पनि भनिन्छ । त्यसैले मानवीय पूजी निर्माणका लागि विद्यार्थीहरूलाई प्राविधिक शिक्षा दिन अपरिहार्य छ ।
‘प्राविधिक धार बाहेकका अन्य शिक्षाले जीवन पद्दत्ति सिकाउदैन, २४–२५ वर्षको उमेरसम्म अक्षर सिकाउछ तर शिक्षा सिकाउदैन’ भन्ने जमात बढ्दै गएको छ । त्यसैले नेपाल अन्य मुलुकको दाँजोमा पछाडि छ भन्दा फरक नपर्ला । किन भने रोजगारीको अवसर नपाउनु हो । जतिले रोजगारी पाएका छन् ती पनि पूर्णकालीन नभई अर्धरोजगार छन् । जब व्यक्तिको आय नै कम छ भने जीवनस्तर पनि सवल हुदैन । व्यक्तिमा प्राविधिक ज्ञान छ भने उसले बिना काम समय खेर फाल्नु पर्दैन । नेपाल प्रकृतिको विशाल भण्डार हो । यसलाई सदुपयोग गरी युवालाई स्वरोजगारी दिलाउन सकिन्छ । विश्वका विकसित देशहरूमा त्यहाँको प्राविधिक जनशक्ति नै विकासको कारक बनेको देखिन्छ । त्यसैगरी जुन–जुन देशमा प्राविधिक जनशक्तिको कमी छन्, ती देशहरू पछि परेका छन् । नेपालमा प्राविधिक शिक्षालायहरू निकै कम छन । यसको उदाहरणका लागि मोरङको शैक्षिक संस्थालाई लिन सकिन्छ । मोरङमा प्राविधिक विद्यालयहरूको संख्या १६ र अन्य सामुदायिक एक सय ६९ तथा संस्थागत दुई सय २५ गरी ४ सय १० विद्यालय सञ्चालनमा छन् । यसमध्ये २०८० को एसइइ परीक्षामा १७ हजार ५ सय ४५ जनाले आवेदन फारम भरेका थिए । त्यसमध्ये साधारणतर्फ १६ हजार ६ सय ८१ र प्राविधिक धार तर्फ ५ सय ९६ ले परीक्षा दिएका थिए । यसरी हेर्दा प्राविधिक धारमा अध्ययन गर्नेको संख्या धेरै कम छ । यसो हुनुमा नीति निर्माण कर्ता र अभिभावक पनि उत्तिकै जिम्मेवार छन् । शिक्षा आर्जन गरिसकेपछि प्राविधिक धारका विद्यार्थीले साधारतर्फकोले भन्दा बढी रोजगारीको अवसर पाउनका साथै राष्ट्रका लागि समेत फाइदा पुग्ने भएकाले कर्मकाण्डी शिक्षालाई भन्दा प्राविधिक धारलाई प्राथमिकता दिन आवश्यक छ । मोरङ्ग जील्ला मात्रै हेर्ने हो भन्ने १६ ओटा प्राविधिक धारका विद्मालय हुनु यो नेपाल सरकारको कमी कमजोरी हो । नेपालले अझै प्राविधिक धारका विद्मालय स्थापना तर्फ जानुपर्छ । राष्«िय बलियो र सम्पन रोजगारी र आन्तरिक क्रय जनशक्ति वृद्धि विकास नै हो । जहाँ प्राविधिक छ त्यहाँ विकासको बाटो आफैँ क्रमश खुल्दै जानछ ।
प्राविधिक शिक्षा र सैद्धान्तिक शिक्षामा फरक ः
१ प्राविधिक शिक्षा ः
१. पढाईसंगै अनुभव हुनु ।
२. पढाईसंगै आत्मनिर्भर हुनु ।
३. पढाईसगै स्वरोजगार हुनु ।
४. प्राकृतिक सम्पदाको सहि सदुउपयोग हुनु ।
५. सैद्धान्तिक शैक्षिक ज्ञानसंगै प्राविधिक ज्ञान पाउने ।
२. सैद्धान्तिक शिक्षा ः
१ सैद्धान्तिक मात्रै ज्ञान हासिल गर्नु ।
२. काम गर्ने प्रक्रिया थाहा हुनु ।
३. व्यवहारिक ज्ञान नभएको ।
४. अध्यनको प्रमाणपत्र प्राप्त तर आत्मनिर्भर नहुनु ।
५. बुबा र आमामा आश्रित आदि ।
यसले गर्दा देशको परिवेश र जीवनसंग मेल खाने खालको शिक्षा प्रणाली भयो भने मात्र विकास सम्भव छ । कृषि विज्ञानका विद्यार्थीहरूलाई खेतमा काम गर्न लगाउने र त्यसले उत्पादन दिने शिक्षा हुनुपर्छ । शतप्रतिशत काम लगाउने शिक्षा नीतिको विकाससंगै प्राविधिक शिक्षा ऐन प्रदान गर्ने व्यवस्था हुन जरुरी छ । कृषि विज्ञानका विद्यार्थीहरूलाई किसानको खेतमा लगेर धान, गहुँ, मकै, उखु, आलु, टमाटर, प्याजजस्ता कृषिजन्य उत्पादनमा जोडिने खालको शिक्षा हुनुपर्छ । विज्ञान, व्यवस्थापन संकायका विद्यार्थीहरूमा किताबी ज्ञान होइन प्राक्टिकल रूपमै अब्बल हुन आवश्यक छ । किन कि व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीले व्यापार के हो ? कसरी गर्न सकिन्छ ? भन्ने विषयमा व्यवहारिक ज्ञान हुन आवश्यक छ । यसो भनिरहदा यही काम नलाग्ने वर्तमान शिक्षाको माध्यमबाटै यत्तिका मानिसले रोजगारी पाएका छन् त ? भन्ने प्रश्न पनि उठ्छ तर औसतमा व्यावहारिक भने पक्कै छैन ।
अबका बालबालिकाहरूले चामल कहाँ फल्छ बोरामा, दाल कहाँ फल्छ किराना दोकानमा, चिनी कहाँ उत्पादन हुन्छ किराना दोकानमा भन्ने समय पनि चाडैँ आउदैछ । यसलाई मध्यनजर गर्दै माटोसंगको साइनो सिकाउने शिक्षा प्रणाली हुन जरुरी छ । यहाँको भूगोल, संस्कार, संस्कृति, भाषाजस्ता मानवका मुलभुत विषेशताहरू हुन् । यी विषयमा सबैको हित हुने शिक्षा प्रणाली हुनुपर्छ । यसले मात्र विकासको मार्ग दर्शन दिन्छ । त्यसैले वर्तमान स्थानीय, प्रदेश र संघीय सरकारले व्यवहारिक शिक्षामा जोड दिने नीति निर्माणमा गम्भिर ध्यान दिन आवश्यक छ ।
प्राविधिक शिक्षाको समस्या के हो ? ः
झापा, मोरङ र सुनसरी जिल्लामा राजवंशी संस्कृतिको पोषाकहरू अत्याधिक बिक्री वितरण हुदै आएको छ । राजवंशी जातिका पोषाकहरू कसरी बनाउन सकिन्छ र बजारीकरण कसरी गर्न सकिन्छ भन्ने पाठ्यक्रम विकास गरेर व्यवहारिक शिक्षा दिन सके विद्यार्थी स्वरोजगार बन्थ्यो । प्राविधिक शिक्षाको समस्या स्थान र परिवेश फरक–फरक भएकाले यो पनि एउटा समस्या हो । किनभने देशको भौगोलिक अवस्था, संस्कार, संस्कृति, परम्परा, परिवेश अनुसार पाठ्यक्रम निमार्ण गरे उपयोगी हुन्छ । जस्तो मोरङ, सुनसरी र झापा जिल्लाको परिवेश र यहाँको माग, कारोबार अनुसार विद्यालयमा पाठ्यक्रम निमार्ण गरे उपयोगी हुन्छ । तर यसप्रति ध्यान दिएको पाइन्दैन ।
विद्यमान अवस्थामा प्राविधिक धारका अर्को समस्या भनेको पुराना पाठ्यक्रम पुनरावलोकन नहुनु पनि एक हो । बजारमा उच्च माग भएका नयाँ पाठ्यक्रम समावेश गर्नु पर्ने भएको छ । जस्तो सूचना प्रविधि, खाद्य प्रशोधन, उद्यमशीलता, फर्मास्युटिकल, टेक्सटायल जस्ता विषय थप गरी अध्ययनका क्षेत्र विस्तारमा जोड दिनुपर्दछ ।
यति मात्र होइन विषयगत दक्ष शिक्षकको अभाव प्राविधिक शिक्षाको अर्को समस्या हो । कुनै एक प्रि–डिप्लोमा प्राविधिक कार्यक्रमका कक्षा सञ्चालन गर्न कम्तीमा तीन प्राविधिक शिक्षक चाहिन्छन् । हाल प्रतिकार्यक्रम सरदर २.८८ शिक्षक उपलब्ध छन् । उपलब्ध शिक्षकमध्ये पनि एक चौथाइ स्थायी र तीन चौथाइ सेवा करारका अस्थायी शिक्षक छन् । त्यस्तै गरी विद्यालय तहको प्राविधिक धारका लागि ५ शिक्षक आवश्यक पर्नेमा हाल ४ शिक्षक मात्र उपलब्ध छन् र करिब २० प्रतिशत आवश्यक शिक्षकको दरबन्दी सिर्जना भएको छैन ।
विद्यालयको प्राविधिक धारमा पनि २५ प्रतिशत शिक्षकले आंशिक शिक्षकका रूपमा काम गर्छन् । यस विधाको मुख्य कार्यक्रम अथवा तीन वर्षे डिप्लोमा पाठ्यक्रमका लागि १० जना शिक्षक आवश्यक पर्नेमा हाल ६ जना मात्र उपलब्ध छन् । उपलब्ध शिक्षकमध्ये सरदरमा एक शिक्षक स्थायी र पाँच जना सेवा करारमा छन् । उपलब्ध शिक्षकमध्ये एक चौथाइ मात्र तालिम प्राप्त छन् र अन्यले शिक्षण तालिम पाएका छैनन् ।
यी समस्या समाधान गर्न निर्धारित राष्ट्रिय मापदण्ड अनुसार विषयगत शिक्षक नियुक्ति र आवश्यक तालिम दिने व्यवस्था गर्नुपर्छ । प्राविधिक धारका सामुदायिक विद्यालय र सीटीईभीटी अन्तरगतका आंगिक संस्थामा राष्ट्रिय मापदण्ड अनुसारका शिक्षक पूर्ति गर्नुपर्छ । नयाँ नियुक्ति पाएका शिक्षकलाई सेवा प्रवेश तालिम दिई शिक्षणमा लगाउने र प्रत्येक तीन वर्षमा बदलिँदो प्रविधिबारेको ज्ञान अद्यावधिक गर्न पुनर्ताजगी तालिम दिने व्यवस्था गर्नुपर्छ । सीटीईभीटीबाट सम्बन्धन लिएर सञ्चालन भएका निजी संस्थामा राष्ट्रिय मापदण्ड अनुसार विषयगत शिक्षक आवश्यक संख्यामा कार्यरत छन् कि छैनन् अनुगमन गरी धेरै जनसंख्या भएका शहरी क्षेत्रका प्राविधिक शिक्षालयमा विषयगत शिक्षकको समस्या समाधान गर्न बहुप्राविधिक शिक्षालयको अवधारणा अगाडि बढाउनुपर्छ ।
प्राविधिक शिक्षकलाई दक्ष बनाउन के गर्नुपर्छ ?
१. शिक्षकहरूलाई तालिमको व्यवस्था गर्नुपर्छ ।
२. शिक्षकहरू पनि अनिवार्य सम्बन्धित विषय वस्तुमा काम गरीरहेको हुनुपर्छ ।
३. शिक्षकहरू पनि सम्बन्धित व्यवहारिक जीवनमा बाँधिएको हुनुपर्छ ।
४. शिक्षा घोकेर होइन काम गरेर सिकाउनुपर्छ भन्ने भाषाको महत्व राम्रोसंग बुझेको हुनुपर्छ ।
गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका विशेषताहरू कस्तो हुनुपर्छ ? ः
१.शैक्षिक कार्यक्रमहरू व्यक्ति, समुदाय र श्रम बजारको आवश्यकतासंग समन्धित रही काम गर्ने ।
२. शिक्षामा निम्न वर्गदेखि उच्च वर्ग सबैको पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्ने र शैक्षिक कार्यक्रमहरूमा युवाको आकर्षण बढाउने ।
३. सिकाइ योग्यता राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारको स्तरमा मान्यता प्राप्त र प्रमाणीकरण भएको हुनुपर्छ ।
४. कुनैपनि काम औपचारिक तथा अनौपचारिक कार्य क्षेत्रमा मार्यादित रूपमा असल दिगो काम गर्ने वातावरण सही सुनिश्चित भएको हुनुपदर्छ ।
५. तालिम, उत्प्रेरणा र क्षमता अभिवृद्धि तथा निरन्तर सिकाइका अवसर उपलब्ध गराउने र गर्ने सुनिश्चितता हुनुपर्छ ।
६. उल्लिखित माथिका विशेषताहरू पूरा हुने गरी शैक्षिक प्रणाली तथा शैक्षिक कार्यक्रम कार्यान्वयनको उचित व्यवस्था गर्नुपर्छ ।
पाठ्यक्रम कस्तो हुनुपर्छ ? ः
नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ । तर विद्यार्थीले महङ्गो शुल्क तिरेर पढ्न वाध्य छन् । सामुदायीक विद्मालयको फितलो व्यवस्थापन र लाप्रवाहा व्यवस्थपनले नेपालको शिक्षा प्रणलीमा समस्या भएको हो । त्यसमाथि प्राविधिक धारको शिक्षा आर्जन गर्न झनै महङ्गो छ । जुन शिक्षा प्रणालीले जीवन उपयोगी र राष्ट्रका लागि समेत उपयोगी छ, त्यही शिक्षा आर्जन गर्न नसक्ने अवस्था छ । अबको पाठ्यक्रम कक्षा १ देखि नै प्राविधिक धारको व्यवहारिक शिक्षा लागू हुने गरी बनाउनु पर्छ । हरेक विद्यार्थीले निःशुल्क रूपमा अध्ययन गर्न पाउने गरी व्यवस्था गरिनु पर्छ । यो राष्ट्रिय समस्याप्रति राज्यको ध्यान जान जरुरी छ ।
संजय कुमार राजवंशी
आन्तरिक मामिला तथा कानुन मन्त्रालय
कोशी प्रदेश, विराटनगर