बेरोजगारीको लागि धर्ममा लडाइँ किन ?

Logo
महमद अफरोज हवारी प्रकाशित शुक्रबार, साउन २३, २०८२

बेरोजगारीको लागि धर्ममा लडाइँ किन ?

धर्मको नाममा किन लड्छौं हामी,
किन जल्छ हाम्रो प्रेमको ज्योति?
शान्ति बोक्ने पहाड, नदी र जंगल,
किन बन्छ आज फुटको स्रोति?

पढेलेखेर पनि किन अन्धकारमा,
मान्छे भएर पनि किन भूल्छौं संसारमा?
ज्ञान छ, तर विवेक हराएको,
बुद्धको देशमा द्वेष पसाएको।

अरु देश चन्द्रमा छोएर फर्किए,
हामी अझै भित्तामा रेखा कोर्छौं।
प्रगति छोडेर मन्दिर ,मस्जिद ,चर्चमा अड्किएर,
सपना र नातालाई टुक्रा पार्छौं।

मेरो रगत रातो — रहिम काकाको पनि,
मेरो श्वास जस्तै — उनीकै श्वास पनि।
आज म हिन्दुको घरमा जन्म लिन्छु !
भोलि मुस्लिमकै भान्सामा हुर्किन्छु।
आकाश एउटै, धरती एउटै,
फरक त केवल हाम्रो सोच मात्रै।

इदको नमाज होस् या छठको पुजा,
दुई हात जोडौं, एउटै आसमा।
गीत फरक तर स्वर एउटै,
भाव फरक तर हृदय एउटै।

जातपात र धर्मले बाँड्ने होइन,
मानवता नै हो साँचो बन्धन।
आस्था त मनमा जगाउन सकौं,
पर्खाल होइन पुल बनाउन सकौं।

अरु देशसँग तुलना गर्दा थाहा हुन्छ,
हामीसँग पर्वत र साहस कति असीम छन्।
तर जब एक अर्कालाई चोट पुर्याउँछौं,
त्यो साहस र सुन्दरतामा दाग लाग्छ।

हाम्रो देश प्रेमको माटो हो,
रगतमा मिसिएको मित्रताको बाटो हो।
फुटाउनु होइन — जोड्नु हो धर्म,
किनकि मान्छे त एउटै हो अन्तर्मन।

सन्देश :

धर्म, जात र रीत फरक भए पनि,
रगत र आँसु एउटै बग्छन् हाम्रा।
मानवता जितोस् सधैं हाम्रो देशमा,
शान्ति फुलोस् हृदयका वनमा।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]