माघी पर्व: थारु समुदायको पहिचान, संस्कृति र उत्सव

Logo
राजेश कुमार सरदार प्रकाशित बुधबार, पुष ३०, २०८२

माघी पर्व थारु समुदायले मनाउने प्रमुख तथा मौलिक पर्व हो। यसलाई माघे संक्रान्ति वा मकर संक्रान्तिका नामले पनि चिनिन्छ। नेपाली पात्रोअनुसार प्रत्येक वर्ष माघ १ गते मनाइने माघी नेपालका प्रमुख चाडहरूमध्ये एक हो। ‘संक्रान्ति’ शब्दले महिनाको पहिलो दिनलाई जनाउँछ, जसले हिन्दू धर्मावलम्बीहरूका लागि ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको छ।

ज्योतिषशास्त्रअनुसार यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति भनिन्छ। यही दिनदेखि सूर्य उत्तरायणतर्फ लाग्ने विश्वास गरिन्छ, जसका कारण दिन क्रमशः लामो र रात छोटो हुँदै जान्छन्। माघीलाई वसन्त ऋतुको प्रारम्भको प्रतीकका रूपमा पनि लिइन्छ। वर्षको सबैभन्दा चिसो समयपछि न्यानोपन सुरु हुने भएकाले यो पर्व सूर्य देवताप्रति समर्पित गरिएको मानिन्छ।
नेपालका विभिन्न समुदायले माघीलाई आ–आफ्नै शैलीमा मनाउने गर्छन्। नेवार समुदायले ‘घ्यूचाकु सँल्हु’का रूपमा मनाउँदै चाकु र तिलबाट बनेका परिकार खाने र दान गर्ने परम्परा राखेका छन्। ब्राह्मण–क्षेत्री समुदायमा मकर संक्रान्ति, मगर समुदायमा माघ्या वा सेल्हस पर्वका रूपमा मनाइन्छ। यसै दिन किराँत वंशले काठमाडौँ उपत्यकामा विजय प्राप्त गरी किराँत संवत् सुरु भएको विश्वास पनि गरिन्छ।

हिन्दू धार्मिक मान्यताअनुसार महाभारतका भीष्म पितामहले यही दिन इच्छा मृत्यु रोजेका थिए। राजा भगिरथले गंगा नदीलाई पृथ्वीमा अवतरण गराएको कथा पनि माघे संक्रान्तिसँग जोडिएको छ। त्यसैले प्रयाग र गंगासागरमा गरिने स्नानलाई ‘महास्नान’का रूपमा लिइन्छ।
माघीमा तिलको लड्डु, घिउ, चाकु, सखर, तरुल, चिउरा लगायतका खाद्य पदार्थ खाने परम्परा छ। जनविश्वासअनुसार यस्ता परिकारले शरीरमा ताप प्रदान गर्नुका साथै शक्ति र रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्। वैज्ञानिक दृष्टिले पनि यी खाद्य पदार्थ स्वास्थ्यका लागि लाभदायक मानिन्छन्। माघी स्नानले रोग–व्याधि र पाप नाश हुने विश्वास रहिआएको छ।

नेपालभर फैलिएका थारु समुदायमा माघी पर्वलाई विभिन्न नामले चिनिन्छ—कतै माघी, कतै तीला संक्रान्ति, खिचरा वा खिंचडी। नाम फरक भए पनि पर्वको सार, महत्व र सन्देश एउटै छ। थारुहरू प्रकृतिप्रेमी समुदायका रूपमा चिनिन्छन्। सेतो पहिरनप्रतिको रुचिले उनीहरूको शान्त स्वभाव र प्रकृतिसँगको सामिप्य झल्काउँछ।

थारु भाषाका लेखक रामसागर चौधरीका अनुसार माघी नयाँ योजना बनाउने, गाउँका अगुवा—बर्घर, मुखिया, गहदार, महतवा, भलमन्सा—छान्ने तथा सामुदायिक निर्णय गर्ने महत्वपूर्ण अवसर हो। माघी थारु समुदायको नयाँ वर्षको सुरुवात पनि हो। दुःख–पीडा बिर्सेर हर्षोल्लासका साथ एउटै मितिमा मनाइने यो पर्व सामाजिक एकता र सामूहिकताको प्रतीक हो।

माघीको तयारी एक दिनअगाडिदेखि नै सुरु हुन्छ। माघ १ गते बिहान परिवारसहित नदीमा स्नान गरी उत्सव प्रारम्भ गरिन्छ। तिलको लड्डु, सखरखण्ड, भक्का, बगिया, मालपुवा, चिउरा तथा अन्दी चामलबाट बनेका परिकार थारु समुदायका प्रमुख खाद्य परिकार हुन्। शाकाहारी र मांसाहारी दुवै प्रकारका भोजनको विशेष व्यवस्था गरिन्छ। ‘पुषमा पकाएको माघमा खाने’ उखान थारु समुदायमा प्रचलित छ।
यस दिन साना–ठूलाबाट आशीर्वाद लिने, आपसी रिस–राग त्याग्ने र सम्बन्ध सुमधुर बनाउने चलन छ। सखरझैँ गुलिया र लड्डुजस्तै मिठा पल वर्षभरि रहून् भन्ने कामनासहित माघी मनाइन्छ।

अहिले माघीलाई अवसरका रूपमा उपयोग गर्दै विभिन्न स्थानमा माघी महोत्सव आयोजना गरिँदै आएको छ। यस्ता महोत्सवमार्फत थारु समुदायका भेषभूषा, खाना र सांस्कृतिक पहिचानलाई अन्य समुदायसमक्ष चिनाउने प्रयास भइरहेको छ। थारु समुदायले परम्परागत रूपमा तयार गर्दै आएका भोजनको स्वाद लिनेहरूको संख्या पछिल्लो समय बढ्दो क्रममा छ।

थारु समुदायका भेषभूषा र खानाका परिकारहरूको दायरालाई अझ फराकिलो बनाउँदै व्यापक रूपमा परिचित गराउन सके, यसले थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा स्वाभाविक रूपमा टेवा पुग्नेछ। साथै, सांस्कृतिक पर्यटनको विकास भई सिंगो समाजको आय–आर्जनमा समेत सकारात्मक योगदान पुग्ने प्रचुर सम्भावना देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]