विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलकी छात्रा स्नेहा कोइरालाले रुसमा सम्पन्न पाँचौँ खुला विश्व खगोल विज्ञान ओलम्पियाडमा कांस्य पदक जितेकी छन्। उनीसँगै नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेका छन्।
रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा नेपालका चार विद्यार्थीले पदक जितेका हुन्। प्रतियोगितामा रिवाश राईले रजत पदक जित्दा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक प्राप्त गरेका छन्।
रजत पदक विजेता रिवाशले प्रतियोगितामा ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन्। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो।
आफ्ना विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै पदक जितेर देशकै नाम उँचो बनाउँदा गौरव लागेको विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले बताए। विद्यार्थीको मेहनत र विद्यालयले गरेको लगानी सार्थक बन्दै गएको अनुभूति भएको उनको भनाइ छ।
कोशी प्रदेशमा रहेर देशकै अब्बल विद्यालयका रूपमा परिचित एभरेष्टले पछिल्लो समय विद्यार्थीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउँदै लगेको छ। विद्यार्थी विश्वस्तरमा प्रतिस्पर्धी बन्नुपर्छ भन्ने विद्यालयको मान्यता सार्थक हुँदै गएको प्रिन्सिपल पुरीले बताए ।
‘यो विद्यार्थी र विद्यालयको मात्रै होइन, देशकै गौरवको विषय हो,’ उनले भने।
स्नेहा एभरेष्ट सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छन्।
यसअघि यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड–जुनियरमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए। उक्त प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गरेका थिए। आलमले जितेको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपालले प्राप्त गरेको पहिलो स्वर्ण पदक हो।
एकै महिनामा सम्पन्न दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीले स्वर्ण, रजत र कांस्य पदक जित्नुले विज्ञान तथा खगोल विज्ञानप्रति नेपाली युवाको बढ्दो रुचि, क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनीहरूको सफलतालाई उजागर गरेको छ।
