

विराटनगर / क्यान्सरले पीडित महिला फुटबल खेलाडी कमला श्रेष्ठलाई पथरीशनिश्चरे-६ का समाजसेवी तथा डन बस्को अंग्रेजी स्कुलका सञ्चालक किरण थापाले आर्थिक सहयोग गरेका छन्।
थापाले मङ्गलबार सुनवर्षी नगरपालिका–१ स्थित श्रेष्ठको निवासमा पुगेर नगद ११ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। आफ्नो क्षेत्रकी एक प्रतिभावान खेलाडी क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेको थाहा पाएपछि उपचारमा सहयोग गर्ने उद्देश्यले आफूले सो कदम चालेको उनले बताएका छन्।
२२ वर्षीय कमला श्रेष्ठको पाठेघरमा क्यान्सर भएको पत्ता लागेपछि उनको उपचारका लागि विभिन्न संघसंस्थाहरूले पनि सहयोग गरिरहेका छन्। कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा भोजपुरलाई उपविजेता बनाउँदै उत्कृष्ट रक्षकको उपाधि प्राप्त गरेकी कमला हाल पाठेघरको क्यान्सरका कारण थलिएकी छिन्।
उपचार खर्च धेरै लाग्ने र घरको आर्थिक अवस्था कमजोर भएकाले श्रेष्ठको उपचारका लागि सहयोग गर्न मनकारीहरूलाई अपिल गरिएको छ।
कमलाको साहस र संघर्षप्रति स्थानीयहरू तथा खेलकुद क्षेत्रका व्यक्तिहरूले साथ दिइरहेका छन्। उनको शीघ्र स्वास्थ्यलाभको कामनासहित थप सहयोग जुटाउन विभिन्न प्रयासहरू भइरहेको छ।