इटहरीका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ सेवा कार्यक्रम सुरू

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर / इटहरी उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरूमा ‘विद्यालय नर्सिङ सेवा कार्यक्रम’ सुरु गरिएको छ। सरकारको प्राथमिकतामा रहेको यो कार्यक्रम इटहरीका ३६ सामुदायिक विद्यालयमा लागू भएको हो।

कार्यक्रम कार्यान्वयन गर्न इटहरी उपमहानगरपालिकाले १९ जना स्टाफ नर्स नियुक्त गरेको छ। उनीहरूले विद्यालयमा प्राथमिक र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नेछन्। नर्सहरूद्वारा विद्यार्थीको स्वास्थ्य परीक्षण, परामर्श, र स्वास्थ्य प्रवर्द्धनात्मक सेवाहरू प्रदान गरिनेछ।

नर्सहरूले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य स्थितिको लेखाजोखा, घाउ-चोट उपचार, आकस्मिक समस्याको व्यवस्थापन, महिनावारीसम्बन्धी समस्यामा किशोरीलाई सहयोग, र स्वास्थ्य समस्या भएका विद्यार्थीहरूलाई उपचारका लागि रेफर गर्ने काम गर्नेछन्।

शिक्षा, युवा, तथा खेलकुद महाशाखाका प्रमुख द्रोणप्रसाद दाहालका अनुसार, संघीय सरकार र उपमहानगरपालिकाको साझेदारीमा सुरु गरिएको यो कार्यक्रम आवश्यकताअनुसार विस्तार गर्दै अघि बढाइनेछ। “विद्यालय नर्सिङ सेवाले विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ,” उनले बताए।

मेयर हेमकर्ण पौडेलले विद्यालयबाटै स्वास्थ्य सेवा प्रवाहले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरे। उनले भने, “यो कार्यक्रमले विद्यार्थीको मानसिक स्वास्थ्य, किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।”

इटहरी उपमहानगरपालिकाले अघिल्लो वर्ष जनता बहुमुखी क्याम्पस, कबिर माध्यमिक विद्यालय, र सहिद स्मृति आवासीय विद्यालयमा आन्तरिक स्रोतको प्रयोगबाट नर्सिङ सेवा सुरु गरेको थियो।

विद्यालय सुधारका कार्यक्रमसँगै इटहरीका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ। यो कार्यक्रमले विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाइ, र पोषण प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]