

विराटनगर/ कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलन आज शनिबारदेखि विराटनगरमा सुरु भएको छ। नेपाल बार एशोसिएसन, महिला समितिको आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी महिलाहरू सहभागी हुने भएका छन्।
सम्मेलन विराटनगरको बरगाछी नजिक होटल मनास्लु इनमा शनिबार र आइतबार आयोजना हुँदैछ। कार्यक्रमका लागि ‘महिलाको समानुपातिक, समावेश सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता’ भन्ने मूल नारा तय गरिएको छ।
नेपाल बार एशोसिएसनले पत्रकार सम्मेलन गर्दै ७७ वटै जिल्ला बार, उच्च बार, र सर्वोच्च बारसहितका कानुन व्यवसायी महिलाहरू सम्मेलनमा सहभागी हुन आइसकेको जानकारी दिएको छ।
मुख्य छलफलका विषय
सम्मेलनमा कानुन व्यवसायी महिलाहरूको पेशागत अवस्था, समानुपातिक सहभागिता, अवसर र चुनौती, लैंगिक तथा यौनजन्य हिंसापीडितका न्यायमा पहुँच, पुनःस्थापना, र निःशुल्क कानुनी सेवाको विषयमा छलफल हुनेछ।
यसैगरी, न्यायिक समितिको क्षेत्राधिकार, विवाद समाधानका चुनौती, वातावरणीय परिवर्तनले महिलामा पार्ने प्रभाव, वित्तीय क्षेत्रमा रहेका सम्भावना र चुनौती, प्रजनन स्वास्थ्य अधिकार, तथा सूचना र प्रविधिमा महिलाको पहुँचका विषयमा पनि चर्चा गरिनेछ।
महिला कानुन व्यवसायीहरूको सहभागिताले न्याय प्रणालीमा लैंगिक समानता र सशक्तिकरणको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।