

हिउँले ढाकिएको तिम्रो घरको छानो,
मेरो आँगनमा चर्किएको घामको कानो।
तिमी हेर्छ्यौ आकाशमा जून टोलाउँदा,
म पनि हेर्छु त्यही जून — तिमीलाई सम्झँदा।
तिम्रो हातमा गुँथिएका रेशमका सपना,
मेरो हथेलीमा पसिनाले लेखिएका कथा।
तिम्रो खुट्टाले टेकेका बरफिला डाँडाहरू,
मेरो पाइला डुल्दछ खेतको गह्राभित्रको पाराहरू।
तिमी शान्ति हौ, हिमशीत जस्तै सुस्तरी बग्ने,
म आँधीझैं बग्ने, भावनामा कहिले काहीँ रुइदिने !
तिमी बोल्छ्यौ पहाडको मीठो भाषामा,
म सुनाउँछु मधेशको मिठास गन्ध भाषामा।
भिन्न भौगोलिकता, तर एउटै आकांक्षा,
तिमी र म — दुई दिल, एउटै बन्धनको भाषा।
हाम्रो माया सीमाना चिर्छ, भिन्नता बिर्छ,
हिमाल र मधेसको पुल — त्यो त प्रेमले रचिरहन्छ।
हिमालकी छोरी तिमी, म मधेसको छोरो,
मनले मन बुझ्ने हो भने, के फरक हामी एउटै त होला ?