

छोएको पानी, अझै पनि चल्दैन रे,
मानव बन्छौ भने, मन किन गल्दैन रे?
त्यो हात जसले खेत जोतेको थियो,
त्यो हात छोयो भन्दै, थाप्लो जल्दैन रे?
धर्मका नाममा भेद गरिन्छ यहाँ,
जातका नाममा सिन्दूर हराउँछ जहाँ।
ती निधारमा पनि सपना थियो रे,
तर, तिनीहरू त केवल ‘तल्लो’ रे।
छुँ भन्दै तिमी पखाल्छौ हात,
मानौं मैले मिलि बनाएँ तिम्रो जात।
मेरो जन्मलाई शाप ठानिन्छ,
अनि सोध्छु — यो संसारमा के न्याय बाँडिन्छ?
सहरका बाटा चम्किए जस्तो लाग्छ,
तर गाउँका छाया अझै कालो देखिन्छ।
विद्यालय खुले, कानुन बने,
तर मनभित्र छुवाछूत गाडिएर बसेको छ।
आकाश एउटै, धर्ती एउटै,
हावा एउटै, जून पनि एउटै।
तर ती तिमीलाई शुद्ध,
मलाई भने अपवित्र लेखिन्छ, यो कस्तो युद्ध?
काखमा माया खोज्दा गाली भेटिन्छ,
देउताको मन्दिरमा मेरो पाइला रेटिन्छ।
पढ्न खोज्दा भाँडो छुट्याइन्छ,
बाँच्न खोज्दा मेरो सास पनि तोकिएर गनिन्छ !
आज म बोल्न थालेको छु —
मेरो मौनता अब बोली बन्छ,
मेरो पीडा अब शक्ति बन्छ,
र यो पिँढीले बुझ्नैपर्छ —
जातले होइन, मानवताले मान्छे चिनिन्छ!!