

म त्यो भिडमा होइन,
म त आफैंभित्र हराएको मान्छे हुँ।
बाहिर हाँसो छ — भित्र सुनसान,
कसैलाई थाहा छैन — म भित्रै रोएको मान्छे हुँ।
कुनै मोल छैन, कुनै चिनारी छैन,
मुटुमा चोट, मुखमा मौनता मात्रै छ।
अरूलाई देख्दा ठिकै छ जस्तो लाग्छ,
तर भित्र भत्किएको घर जस्तै छु —
भित्रैबाट ढलेको, भित्रैबाट खोक्रो।
म जेठो छोरा — सबैको आशा बोकेको,
तर आफ्नो सपना? कहाँ छ त्यो सपना?
रातभरि आँखाको कुनामा थुनिन्छन् मेरा अधुरा इच्छाहरू,
सुत्न खोज्छु — निद्रा त कहिल्यै आउँदैन।
बिहान उठ्छु — फेरी जीवन को एउटा न्या अभिनय गर्छु,
जीवनलाई हाँसोको मुखुण्डो लगाइदिन्छु।
अरूले भन्छन् — “कत्ति भाग्यमानी छस् त!”
म मुस्कान दिन्छु,
तर त्यो मुस्कान भित्र — थुप्रै चिहान छन्।
म त्यो मान्छे हुँ —
जो बोल्न चाहन्छु , तर बोल्दैन।
भन्न खोज्छु — “म थकित छु, म भत्केको छु,”
तर भन्छु— “म ठीक छु।”
खै, म आफैंलाई कहिले भेट्ला?
कहिले होला त्यो रात, जब सिरानी भिज्दैन?
म त्यो भिडमा हराएको होइन —
म त आफैंभित्र हराएको छु।