म त आफै भित्र हराएको छु !

Logo
महमद अफरोज हवारी / विराटनगर प्रकाशित आइतबार, आषाढ ०८, २०८२

म त्यो भिडमा होइन,
म त आफैंभित्र हराएको मान्छे हुँ।
बाहिर हाँसो छ — भित्र सुनसान,
कसैलाई थाहा छैन — म भित्रै रोएको मान्छे हुँ।

कुनै मोल छैन, कुनै चिनारी छैन,
मुटुमा चोट, मुखमा मौनता मात्रै छ।
अरूलाई देख्दा ठिकै छ जस्तो लाग्छ,
तर भित्र भत्किएको घर जस्तै छु —
भित्रैबाट ढलेको, भित्रैबाट खोक्रो।

म जेठो छोरा — सबैको आशा बोकेको,
तर आफ्नो सपना? कहाँ छ त्यो सपना?
रातभरि आँखाको कुनामा थुनिन्छन् मेरा अधुरा इच्छाहरू,
सुत्न खोज्छु — निद्रा त कहिल्यै आउँदैन।

बिहान उठ्छु — फेरी जीवन को एउटा न्या अभिनय गर्छु,
जीवनलाई हाँसोको मुखुण्डो लगाइदिन्छु।
अरूले भन्छन् — “कत्ति भाग्यमानी छस् त!”
म मुस्कान दिन्छु,
तर त्यो मुस्कान भित्र — थुप्रै चिहान छन्।

म त्यो मान्छे हुँ —
जो बोल्न चाहन्छु , तर बोल्दैन।
भन्न खोज्छु — “म थकित छु, म भत्केको छु,”
तर भन्छु— “म ठीक छु।”

खै, म आफैंलाई कहिले भेट्ला?
कहिले होला त्यो रात, जब सिरानी भिज्दैन?
म त्यो भिडमा हराएको होइन —
म त आफैंभित्र हराएको छु।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]