थारु समुदायको मौलिक संस्कृति : गोठाले पर्व

Logo
राजेश कुमार सरदार प्रकाशित सोमबार, आश्विन २०, २०८२

थारु समुदायलाई परम्परागत रूपमा माछा मार्ने जातिको रूपमा पनि चिनिन्छ। उनीहरूको बसोबास प्रायः नदी, ताल, खोल्सा र दलदली भूभागमा हुने भएकाले माछा मार्ने संस्कार दैनिकीसँग गाँसिएको छ। उनीहरूले  पुराना परम्परागत उपकरण जस्तै जाल, डोरी, बारुला, फन्दा, आदि प्रयोग गरेर माछा मार्ने चलनलाई आजसम्म जोगाइराखेका छन्।

माछा उनीहरूको खानपानमा मात्र होइन, पर्व–विशेषमा पनि विशेष महत्व राख्छ। जितिया, गोठाले, तिहार पर्व जस्ता अवसरमा माछा विशेष परिकारको रूपमा अनिवार्य हुन्छ। यही कारणले अन्य समुदायहरूले उनीहरूलाई “माछा मार्ने जाति” भनेर सम्बोधन गर्ने गरेका छन्। तर थारुहरूको पहिचान माछा मार्नेमा मात्र सीमित छैन। उनीहरू कृषि, पशुपालन, बनजंगल, मौलिक संस्कार, कला र सामूहिक जीवनशैलीसँग जोडिएको विस्तृत सांस्कृतिक पहिचान बोकेका समुदाय हुन्।

थारुहरु प्रकृति संगै रमाउने बानी र परापूर्व काल देखि नै माछा मार्नमा सिपालु जातिका रुपमा पनि चिनिनु एउटा मौलिक बिशेषता नै हो । थारुहरुले बनाएको खानेकुराका परिकारमा अन्य समुदायका मानिसहरु पनि अत्यधिक रुचाउँने गरेका छन् ।

यिनिहरु बाह्रै महिना कुनै न कुनै तरिका बाट माछा मार्ने काममा रमाउँने गर्दछन् । त्यस कारण थारुहरुले मनाउँने गोठाले पर्वको सम्बन्ध माछा मार्ने कार्यसंग पनि सम्बन्ध देखाउँदछ । यस पर्वको एक दिन अगावै वा सोही दिन ताल, पोखरी, नदि तथा जलाशय युक्त ठाउँमा गएर माछा मार्ने चलन रहेको छ । माछा मार्ने कार्य गरे संगै यस गोठाले पर्वको लागि खानपिन र परिवारमा बिशेष तयारी पनि गर्दछन् । यस पर्वको मुख्य बिशेषता भनेकै खानपिनमा माछा र बगियाको रुपमा प्रचलित रहेको छ ।

माछा र बगियाको सम्बन्ध

थारु समुदायको खानपान परम्परा उनीहरूको जीवनशैली, भौगोलिक स्थिति र संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ। थारुहरू प्रायः तराईका नदी, खोल्साखोल्सी र बगर क्षेत्रहरूमा बसोबास गर्छन्, जहाँ माछा सहजै पाइन्छ। माछा उनीहरूको मुख्य प्रोटिन स्रोत हो भने बगिया , अर्थात् चामलको पिठो उसिनेर  बनाइएको परिकार, खेतीपातीबाट प्राप्त हुने प्रमुख अन्न हो। त्यसैले थारुहरूले माछा र बगिया सँगै खाने चलन अपनाएका छन्, जसले पानी र माटो—दुवैको उपहारलाई एकसाथ ग्रहण गर्ने प्रतीक प्रस्तुत गर्छ।

डा.चन्दन विश्वासको अनुसार माछा र बगिया सँगै खानु केवल स्वादको कुरा होइन, पोषण सन्तुलनको दृष्टिले पनि महत्वपूर्ण छ। माछाबाट प्रोटिन, आयोडिन र ओमेगा–३ फ्याट जस्ता पौष्टिक तत्व पाइन्छ भने बगिया बाट शरीरलाई आवश्यक कार्बोहाइड्रेट प्राप्त हुन्छ।
यी दुई परिकार सँगै सेवन गर्दा शरीरमा उर्जा र पोषण दुवै सन्तुलित रहन्छ। साथै, माछाको रस र बगियाको सादा स्वाद एकअर्कामा मिसिँदा खानाको स्वाद प्राकृतिक र मनमोहक बन्छ। थारु समुदायका धेरै पर्वहरू—जस्तै गोठाले पर्वमा—माछा र बगिया सँगै खाने चलन छ। यसले देवता र पूर्वजप्रति कृतज्ञता प्रकट गर्ने धार्मिक र सांस्कृतिक अर्थ बोकेको हुन्छ।

माछा “जलको जीवन” र बगिया “भूमिको फल”को प्रतीक भएकाले यी दुवै सँगै खानु प्रकृतिप्रति सम्मान प्रकट गर्ने परम्परा हो। साथै, यस्तो सामूहिक भोजनले परिवार र समाजबीचको एकता, मेलमिलाप र स्नेहलाई अझ बलियो बनाउने काम गर्छ।
यसरी हेर्दा, थारुहरूले माछा र बगिया सँगै खाने चलन केवल खानपानको अभ्यास मात्र होइन, यो उनीहरूको जीवनशैली, संस्कृति, पोषण र धार्मिक विश्वासहरूको सन्तुलित अभिव्यक्ति हो।

धार्मिक महत्व

थारु संसकृतिको जानकार, ग्रामथान- ६,  निवासी, शिवनारायण चौधरीका अनुसार, देउता र दानवबीचको युद्ध सकिएको खुसियालीमा—अर्थात् देवताले दानवमाथि विजय प्राप्त गरेको अवसरमा यसै पूर्णिमाको दिन विजयी उत्सव मनाएको दिन नै गोठाले हो।
आफ्नै खेतीबारीबाट उब्जिएको चामलको पिठो उसिनेर बनाएको गोलाकार बगिया र नजिकैको जलाशयमा सजिलै प्राप्त हुने माछालाई परिकारको रूपमा खाने चलन रहिआएको छ। त्यसैले, माछा र बगिया विजयी उत्सवको प्रतीक पर्वका रूपमा मानिन्छ।

बगियासँगै खाने माछाको महत्व

थारु लेखक राम सागर चौधरीले बगियासँगै खाने माछाको महत्व बारेमा बताएका छन्। उनका अनुसार यस पर्वमा शुभको प्रतिक मङोरा (मुङरी) माछाको बिशेष स्थान रहन्छ । जसरी मङोरा माछा जलथल, लेदो माटोमा जिवित रहन सक्छन् त्यसरी नै यस घरको बाल बच्चाहरु जलथल, लेदोमाटोमा खेलेर अजर अमर बनुन भन्ने जन बिश्वास रहि आएको छ ।

मङोरा माछा मार्दा संगै अरु माछा पनि मार्ने हुनाले माछा र बगिया खानपिन गरेर रमाइलो गर्ने गर्दछन् ।
त्यसकारण यस पर्वमा छोरी ज्वांई, बहिनी ज्वाईलाई आमन्त्रण गरेर संगै बसी खानपिन गरेर रमाइलो गर्दछन् । त्यति मात्र नभई छरछिमेक, आफन्तजन लाई बोलाई हाँसी मजाक गरि खानपिनको शुरुवात गर्दछन् । यस सम्बन्धमा थारु भाषाका लेखक निरा भगत थारु को अनुसार यो उमंग र उत्साहको पर्व पनि हो । विवाहित छोरीहरु यस गोठाले पर्वका दिन माइत आउँछन् । माईतमा आउँदा घुम्टो ओड्नु पर्दैन । कुमारी हुँदा कै जस्तो हासी खुसी आफ्‌नो दिदि बहिनी, साथी संगीनी भेट हुने रमाइलो गर्ने, दुःख सखका कुराहरु एक अर्कामा सुनाउने र सुख दुःख बाड्ने पर्वको रुपमा पनि चिनिन्छ यो गोठाले पर्व ।

यस दिन थारुहरुले मौलिक परिकार माछा र बगिया तथा अन्य परिकार बनाएर इष्ट मित्र, नाता गोता सबैलाई खुवाउने बाड्ने प्रचलन पनि रहेको छ । यस प्रकार वर्ष दिनको पिर, ताप विर्षेर पारस्परीक सहयोग एवं सद्भाव बाड्ने पर्वको रुपमा प्रचलित रहेको छ ।
सनातन देखि चलि आएको यसको आफ्‌नै किसिमको धार्मिक मूल्य मान्यता र साँस्कृतिक बिशेषता रहेको छ । यो गोठाले पर्व थारु समुदायले हरेक वर्षको कोजाग्रत पुर्णिमाको दिन मनाईने यसको छुटै बिशेष महत्व रहेको पाईन्छ । बडा दशैको टिका विसर्जन पछि आउने कोजाग्रत पुर्णिमाको दिन लक्ष्मी को वास हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । लक्ष्मीको वासले  बर्ष दिन सम्म खान लाउन पुग्ने बिश्वास गरिन्छ ।
सबैमा खुसी आउछ । मंगलै मंगल हुन्छ, कुनै अनिष्ट आउदैन, सवै खुसी र सुखी रहन पाईन्छ भन्ने मान्यता रहेको छ । गोठाले पर्व सबैको अनिवार्यता हो र मनाएको हुन्छन् तर कुँड पावन भाकल गर्नेले  मात्र मनाउँदछन्।  कुँड पावनमा फुलहथा राखिन्छ। फुलहथा धामी विद्याको परिक्षा हो ।

फुलहता पूजा गर्नको धामी धामी मिलेर वा समाजको व्यक्ति मिलेर पैसा संकलन गर्छन् । फुलहथा भन्नाले विशेष किसिमको पूजापाठ जसलाई धामी विद्या पनि भनिन्छ । धामीहरु आफ्ना मन्त्रलाई नवीकरण गर्ने गर्दछन् र धामीलाई थप शक्तिशाली बनाउँछ । त्यति मात्रै होइन नयाँ धामी  बन्ने प्रक्रिय र परीक्षण पनि हो।

गोठाले पर्व आश्विन शुक्ल (दशैको) पूर्णिमा कोजाग्रतको दिन मनाइने यस गोठाले पर्वमा कुल देवता लगायत ग्रामथान, पितृ, गैंया, डिहवारनी, जलकुमारी, हनुमान ठाकुरलाई पहिला पिठोको पातलो सेतोझोलले अर्पण गर्दछन् र सिन्दुर टिका लगाई केराको पातमा तत तत देवी देवी देवतालाई बगिया चढाउँछन् ।

बगिया भनेको चामलको पिठोबाट बनाएको एक बिशेष प्रकारको खानाको परिकार हो ।
खासगरी लक्ष्मीको रुपमा मानिएको रुपनी भडारनीलाई स्मरण र पूजा गर्ने गर्दछन् ।

निःसन्तान दम्पतीले रुपनी भडारनीलाई सन्तानको प्राप्तिको भाकल गर्दछन् र सन्तान प्राप्त भएमा बिशेष रुपले यो पर्व मनाउँने गर्दछन् ।
यसरी भाकल गर्नेले पूर्णिमाको भोली पल्ट मनाउने चन्द्रमालाई कुँड पावन भनिन्छ ।

कुँडपावन

यो गोठाले पर्व एउटा भाकल दिने पर्वको रुपमा पनि प्रचलित रहेको छ जसलाई कुँडपावन भनि भनिन्छ । थारु भाषामा धानको गोलाकार थुप्रोलाई कुँड र धानको भुषलाई तुस्सा भनिन्छ । धानको सानो थुप्रो (कुँड) माथि माटोको कलश राखिएको हुन्छ जसमा रुपनी भडारनी लाई धन कि देवी लक्ष्मीको प्रतिकको रुपमा पूजा गरिन्छ ।

त्यही कुँड माथि राखिएको कलशमा चढेर धामीले नमोनी अर्थात देवीसवार गर्दछन् । त्यसैले यस गोठाले पर्वलाई कुँड पावन पनि भनिन्छ ।
यस प्रकार यो चाड आश्विन शुक्ल प्रतिपदाका दिन सन्तान प्राप्तिका लागि गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन व्रत बस्ने र जागरण बस्ने गरिन्छ ।
कुँड पावनका दिन नुहाई धुहाई गरि उपवास बस्दछन् । घर सफा सुग्घर राखी यज्ञ गर्ने स्थानमा केही माटोले लिपपोत गर्दछन् र सोही स्थानमा देवताको रुपमा मानिएको पान सुपारी र कलशको मुनि शुभ चिन्ह बनाइन्छ । त्यसमा धान, रक्सी, कलश भित्रमा भगवत्तीको रुपमा राखी डालीमा मिठाई राख्ने कार्य गरिन्छ । गाउँलेहरु हरिकिर्तन भजन गर्दछन् । धामीले आफ्‌नै किसिमले पूजा, पाठ, यज्ञ गर्दछन् ।

त्यस बखत व्रत बस्ने महिलाले फूलपाती, सिन्दुर चढाई आफ्‌नो आचलको झोली बनाएर कलशमा सन्तानको बरदान माग्दछन् । र कलशको फूल आँचलमा झरेमा सन्तान प्राप्ति हुने जन विश्वास छ । यस दिन रात भरि जाग्राम बसि बिहान प्रसाद वितरण गर्ने चलन छ ।
यस प्रकार परम्परागत धार्मिक, मूल्य, मान्यता एवम सांस्कृतिक मौलिक बिशेषता बोकेको पर्वको रूपमा गोठाले पर्व मनाईंदै आएको छ ।
आजकाल पर्वको नाममा आधुनिक नृत्य कार्यक्रम को आयोजना गरी तडक भडक पन बढदै गएको छ । आधुनिक नृत्य र खानपिनले परम्परागत मौलिक संस्कृतिलाई बिस्थापन गरेको अवस्था सिर्जना भएको छ । पर्वको नाममा खर्चिलो बन्दै गएको देखिन्छ । परम्परागत मूल्य, मान्यता र संस्कृतिलाई आझेलमा पारिएको छ । गोठाले पर्वको मूल मर्म माथि नै प्रहार हुन थालिएको छ । त्यसकारण अहिलेको थारु यूवा पुस्ताले यस पर्वको परम्परागत मूल्य मान्यता, संस्कृति र आदर्शतालाई पालना र जर्गेना गर्नु पर्ने अपरिहार्यता देखा परेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]