यो उमेरको प्रश्न ?

Logo
महम्द अफरोज हवारी प्रकाशित बुधबार, माघ ०७, २०८२

यो उमेरको प्रश्न ?

थाकी सकेको छु म यो जिन्दगीसँग,
जन्म लिएँ—त्यो मेरो दोष थिएन।
ठूलो भएँ, घर चलाउने उमेर आयो,
तर यो उमेरमा काम भेटिँदैन।

के मेरो मात्र भाग्य यस्तै हो त?
कि म जस्ता हजारौँ अनुहार छन् !
हातमा सपना, आँखामा भविष्य,
तर खल्तीमा आजको उत्तर छैन।

बाल्यकाल बित्यो खेलमैदानमा,
धुलोमै लुकाइयो सपनाको बीउ।
अलि बुझ्न थालेँ—हासो र मजाकमा,
समय बग्यो, जिम्मेवारीको खबर नलिई।

आज जवान छु, तर खर्च आफ्नै उठ्दैन,
आमाको मौन पीडा आँखा छेड्छ।
पढाइले थकायो, घरको अवस्था देखेर,
डिग्री छ हातमा—कामचाहिँ भेटिँदैन।

कमाउन खोजेँ, ढोका बन्द भेटेँ,
कहिले अनुभव छैन, त कहिले चिनजान।
यहाँ योग्यता होइन, पहुँच बोल्छ,
मेहनत चुप लाग्छ, अन्याय पोल्छ।

तर हार मानेको छैन म अझै,
किनकि म एक्लो छैन यहाँ।
म जस्तो थुप्रै छ्न आवाज बनेर,
यो व्यवस्था बदल्ने चाहना बोकेर ।

एक दिन सोधिनेछ यो समाजसँग,
यो उमेरको जिम्मा कसले लिन्छ?
त्यो दिन हामी कमजोर हुँदैनौँ,
यहीँ नै परिवर्तनको नाम हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]