हामी राजवंशी, हिन्दु वा अहिन्दु भन्दा पहिला मानव बन्न सिकौँ। मानवले मानवलाई सिकाउँछ। मानव एक सामाजिक प्राणी हो, न कि जङ्गली। त्यसैले एकता, सद्भाव र भाइचारा कायम राख्नु आवश्यक छ।
सायद मलाई लाग्छ, राजवंशीका अगुवा भनाउँदाहरू नै बाटो हगुवा भएका छन्, चाहे अभयको नेतृत्व टोली होस् वा सुबन्तको। किनकि “मै हुँ” भन्ने अहमका कारण आज हाम्रो राजवंशी समुदायको यस्तो अवस्था भएको हो। एकताका अनेकौँ सम्भावनाहरू छन्, तर पनि किन आजसम्म एक हुन सकेको छैन? कुल १ लाख ४० हजार राजवंशी जातिको जनसङ्ख्या मात्र रहेको छ। भनिन्छ नि, “रस्सी जलेर खरानी भए पनि एठ्ठी जाँदैन”, यो त्यसैको एउटा उदाहरण हो।
कुरा रह्यो, राजवंशी जाति न त हिन्दु हो, न त अहिन्दु, न त आदिवासी हो, न त कोच हो!
अब मान्ने हो भने सबै थोक पनि हो। राज्यले बसोबासको आधारमा वर्गीकरण गरेको एउटा शब्द आदिवासी पनि हामी हौँ।
हाम्रा पुर्खाको पालादेखि हामी हिन्द महासागर वरपर बसोबास गर्दै आएका छौँ, जसका आधारमा हामीलाई चिनिने एउटा उपनाम “हिन्दु” पनि हामी नै हौँ।
एक समयमा राजा कीचकको राज्य पूर्वी नेपालका झापा, मोरङ, हालको बिहारका केही भूभाग, दार्जिलिङ, सिक्किम, सिलिगुडी आदि क्षेत्रमा फैलिएको थियो। त्यस अनुसार हामी पनि त्यही क्षेत्रमा बसोबास गर्दै आएका छौँ। राजा कीचकसँग हामी नाता जोड्ने हो भने कोच पनि हामी नै हौँ।
हाम्रा वैदिक शास्त्रहरूमा “हिन्दु” शब्द कतै प्रयोग गरिएको छैन। त्यसैले त्यो दृष्टिकोणबाट हेर्दा हामी राजवंशी अहिन्दु पनि हौँ।
हामी पञ्चतत्त्व पूज्ने गर्छौँ—पृथ्वी, जल, वायु, तेज र आकाश। किनकि पृथ्वी अर्थात् धर्तीले हामीलाई बाँच्नका लागि अन्न उब्जाउने जमिन दिएको छ। जल नै जीवन हो, यो उदाहरण काफी छ। वायुबिना जीवन सम्भव छैन। तेज अर्थात् सूर्यको असीम ऊर्जा, जसबिना जीवनको परिकल्पना हुन सक्दैन। आकाश, यो संसारकै छानो अर्थात् वायुमण्डल, जसबिना पृथ्वीको कुनै अस्तित्व रहँदैन।
त्यसैले हामी सम्पूर्ण राजवंशी जाति वा अन्य जीव सबै सनातनी हौँ। सनातनको न आदि छ, न अन्त। धर्म भनेको कुनै पनि वस्तु वा जीवको आन्तरिक गुण, धारण गर्न योग्य विशेषतालाई दर्शाउँछ। नुनको आन्तरिक गुण नुनिलो हुन्छ, त्यसैले नुनको धर्म नुनिलो हो।
त्यसैगरी, हामी मानवको पहिलो धर्म भनेको मानवता हो। दोस्रो धर्म सनातन हो, जुन शास्त्रसम्मत छ।
जहाँ मानवता हराउँछ, त्यहाँ आजको राजवंशी समाजको अवस्था देख्न पाइन्छ। आज राजवंशी समाज मानवताविहीन बन्दै गएको उदाहरण बनेको छ। त्यसैले यहाँ हिन्दु र अहिन्दुको विषयभन्दा पनि मानवताको विषय महत्वपूर्ण छ।
जय राजवंशी, जय नेपाल।
– कविराज राजवंशी
यूएई 🇦🇪🇳🇵